काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको छ। तर नेपालमा भने पुरानै मूल्यसूची अनुसार काराेबार भैरहेकाे थियो। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो।
अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ। स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहने छ।निगमको हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ। निगमले आइओसीको ६ अर्ब ४० करोड बक्यौता तिर्न बाँकी भन्दै पछिल्लो समय मूल्य घटाउन आनाकानी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि भारतबाट पनि तेलको मूल्य घटेर आएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ७१.३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
योसँगै निगमले यो पटक तेलको मूल्य घटाउन सकारात्मक देखिएको निगम स्रोतले बताएको छ। स्रोतका अनुसार अहिले निगमलाई धेरै नाफा हुने देखिएको छ। ‘नाफा धेरै भएकाले बक्यौता तिर्न समस्या हुँदैन। अब घटेर आएको मूल्यअनुसार जनताले महसुस गर्ने गरी निगमले पनि मूल्य घटाउने तयारी गरिसकेको छ,’ स्रोतले भन्यो।