कप्तान रोहित पौडेलको नेतृत्वमा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५४ दिन अगाडि
कप्तान रोहित पौडेलको नेतृत्वमा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ - नेपाल क्रिकेट संघ(क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । सोमबार क्यानले जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

सार्वजनिक सूचीमा अविनाश बोहोरा, सूर्य तामाङलगायतका खेलाडीलाई समावेश गरिएको छ । नेपालले जिम्बाबेमा खेल्नुअघि दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने तयारी गरेको छ । क्यानले मंगलबारदेखि तयारीका लागि बन्द प्रशिक्षण समेत सुरु गर्दैछ ।

नेपालले गत चैत २ गते कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकपको छनोटमा छनोट भएको हो । विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

१० टोलीलाई आईसीसीले २ समूहमा विभाजन गर्नेछ । हरेक समूहको शीर्ष ३ टिमले सुपर सिक्समा स्थान बनाउनेछन् भने सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्येबाट शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

रोहितकुमार पौडेल कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।यस्तै सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।