काठमाडाै -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका २८ विभाग गठनको प्रक्रिया सुरू गरेका छन्।
सभापति देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिन लागेका छन्। ‘सभापतिज्यूले आज बिहान फोन गरेर प्रचार विभाग तपाईंले सम्हालेर कामहरू अघि बढाउँदै गर्नुपर्यो भन्नुभएको छ,’ उनले भने, ‘केन्द्रीय कार्यालयबाट प्रचार विभाग प्रमुखको पत्र भने पाइसकेको छैन।’ देउवानिकट मानिने विश्वकर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनलाई १४ औं महाधिवेशनपछि सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। सभापति देउवाले महाधिवेशन भएको ६ महिनाभित्र विभाग बनाउनुपर्ने भए पनि अहिलेसम्म नबनाउँदा आलोचना भइरहेको छ।