काठमाडाै -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयनका लागि सहसचिवस्तरीय समिति बनाई काम गरिरहेको बताएका छन्।
शुक्रबार आयोगको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगका सिफारिसहरु कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सहसचिवस्तरीय समिति बनाइ कार्य भइरहेको जानकारी दिए। उनले प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट वृद्धि गरेको र आरोपित व्यक्तिलाई विभागीय कारबाही गरिएको बताए। आायेगका सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रष्ट पारे। आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर रहेको प्रधानमन्त्रीको भनाइ छ।
‘आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर छ । आयोगको संस्थागत सुदृढीकरण र मानव अधिकार आयोग ऐन संशोधनको विषयलाई पनि प्राथमिकतामा राखिएको छ,’ उनले भने। संयुक्त राष्ट्रसंघीय ग्लोवल एलाइन्स फर नेचुरल ह्युमन राइट्स इन्स्टिच्युसनले अहिले आयोगलाई बी स्तरमा झार्न गरेको प्रस्तावप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्रीले प्रष्ट पारे।