कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, १७ जना आन्दोलनकारी पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६१ दिन अगाडि
कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, १७ जना आन्दोलनकारी पक्राउ

काठमाडाै‌ -  प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदेश सभातर्फ जाने चारतिरकै सडक खटिएको प्रहरीले बटुवालाई पनि फर्काइरहेको छ । विराटनगर आउने  सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ । प्रहरी प्रवक्ता दाहालले सुरक्षा सतर्कता उच्च बनाइएको बताए । कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।  प्रदेश सभाले गत फागुन १७ गते  प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।