बेरोजगारी र जातीय कुप्रथामाथिको प्रश्न चलचित्र ‘वेलकम टु हेम्जाकोट’ - निर्देशक पाैडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६७ दिन अगाडि
बेरोजगारी र जातीय कुप्रथामाथिको प्रश्न चलचित्र ‘वेलकम टु हेम्जाकोट’ - निर्देशक पाैडेल

काठमाडौं –  कमेडी जनरामा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिम यतिबेला प्रचार–प्रसारमा छ । कमेडी जनरामा निर्माण गरिएको चलचित्रले दर्शकको साथ र माया पाउनेमा निर्माण टिम आशावादी छ ।

पोखरा नजिकैको थलो हेम्जाकोट वरपर छायांकन गरिएको यो चलचित्रले  बेरोजगार पात्रको संघर्षको कथा पेश गर्छ । ‘हामीले उठाएको बिषयवस्तु काल्पनिक होइन । हाम्रै वरिपरीको कथा हो, त्यहि कथा चलचित्रमा हाँस्य सैलीमा प्रस्तुत गर्न खोजिएको छ’, निर्देशक सरोज पौडेलले भने । 

बेरोजगारी र त्यसले निम्त्याएका दुःखसँग फिल्मको कथाबस्तु प्रस्तुत हुने निर्देशक पौडेलको दाबी छ । अन्तरजातीय प्रेमको कथावस्तुलाइ समेत प्राथमिकताकासाथ प्रस्तुत गरिएको चलचित्रले समाजका थुप्रै आयाममाथि प्रष्टपार्ने निर्माण टिमको अपेक्षा रहेको छ । 

यस बारेमा निर्देशक पौडेल भन्छन्, ‘हामीले असाध्यै ठूला गफ त चुट्छौं । तर, जति नै ठूलो भाषण र गफ चुटेपनि गाउँमा अझै पनि जातीय समस्या छ । जातलाई लिएर प्रेममा लडाइँ हुन्छ । केही प्लट रुकुमको घटनासँग पनि जोडिएको छ ।’

चलचित्र हेम्जाकोटको शीर्ष भूमिकामा छन् कलाकार विनोद न्यौपाने । जो यस चलचित्रबाट केहि दर्शकका लागि केहि नयाँ देखाउन पाउनेमा र दर्शकले पनि केहि न केहि नयाँ पाउनेमा विश्वस्त छन् । 

यसैगरि चलचित्रमा कलाकार बुद्धि तामाङको भूमिका पनि उतिकै शसक्त भूमिकामा देखिएका छन् । उनी पनि यस चलचित्रमा दर्शकले नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउने दावी गर्छन् । यसैगरि डेब्यु कलाकार अम्बिका तामाङले पनि चलचित्रले दर्शकलाई नयाँ स्वाद दिने दावी गरेकी छिन् । उनले भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जसले लोकसेवा परीक्षाको तयारी गरेको छ । यो पात्रसँग मेरा केही स्वभाव पनि मिल्छन् । बाँकी कुरा त चलचित्र हेरेपछि थाहा हुनेछ ।’ 

यस्तै कलाकार प्रेविल कंडेलले पनि यसै चलचित्रबाछ डेब्यु गरेका छन् । उनीपनि चलचित्रबाट निकै उत्साहित देखिन्छन् । 

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ । केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको यो चलचित्र आगामी जेठ २६ गते प्रदर्शनमा आउँदै छ ।