काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दा गेरुवस्त्र धारण गरेको विषयमा प्रष्टीकरण दिएका छन् ।
शनिबार साँझ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले गेरुवस्त्र धारणको बचाउ गरे । उनले सो मन्दिरमा पूजा गर्दा गेरुवस्त्र धारण गर्नैपर्ने नियम रहेको भन्दै नियम उल्लंघन गर्दा नेपालप्रति एक अर्ब भारतीयको मनमा चिसो पस्न सक्थ्यो भन्दै त्यसैले आफूले गेरुवस्त्र धारण गरेको बताए । आफ्ना सुरक्षाकर्मीले गेरुवस्त्र नलागउन भने पनि आफूले मन्दिरको नियम पालना गरेको बताए । उनले गेरुवस्त्र लगाउँदा एक अर्ब भारतीय खुसी भएको उल्लेख गर्दै नलगाएको भए उनीहरुमा नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति चिसो पस्न सक्ने बताए । त्यसो गर्नु उचित हुन्थ्यो त भन्दै प्रचण्डले प्रतिप्रश्नसमेत गरे ।
भ्रमणको तेस्रो दिन शुक्रबार उज्जैनको महाकालेश्वर मन्दिरमा प्रचण्डले नेपालबाट साथमा लिएको १०८ किलो रुद्राक्ष र ५१ लाख भारु चढाएका थिए । भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिँदै सफल र उत्साहजनक भएको बताए । उनले समग्रमा भ्रमण सफल भएको र आपसी विश्वासको वातावरण बनेको बताए । उनले खुलेर कुरा हुन पाएको भन्दै नेपाल र भारतबीचको बहुआयमिक सम्बन्ध थप प्रगाढ भएको बताए ।