काठमाडाै -कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
प्रदेश प्रमुख तिलक परियारले आइतबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा परम्परागत कृषि प्रणाली निरुत्साहित गर्दै प्रतिस्पर्धात्मक, जलवायु अनुकूलन र उत्थानशील बनाई अर्गानिक प्रदेशका रूपमा विकास गरिने बताइएको छ ।
कृषि अभियानलाई सफल पार्न स्थानीय तहको सहलगानीमा मल उत्पादन कारखाना स्थापना गरिने, पशुपक्षी विशेष क्षेत्र तोक्ने, कृषकलाई क्लस्टरगत खेती तथा प्रोत्साहित गरिने योजना रहेको प्रदेश प्रमुख परियारले बताए । ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणाअनुसार मूल्यवान् लोगो प्रदान गर्ने तथा ब्रान्डिङ, लेबलिङ र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेशको सडक सुरक्षाका योजनाअन्तर्गत अकासे पुल निर्माण र सडक मर्मतकर्ताको व्यवस्थालगायत योजना अघि सारिएको छ । नीति तथा कार्यक्रममा सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको हो । मुख्यमन्त्री राजकुमार शर्माले घोषणा गरेको प्रत्येक वर्ष १० हजारलाई रोजगारी दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा प्राथमिकता दिइएको छ ।