पहिलो सिजनमै च्याम्पियन बन्यो चर्च ब्वाइज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
पहिलो सिजनमै च्याम्पियन बन्यो चर्च ब्वाइज

काठमाडौं - चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।

मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो । नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ । यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो । सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो ।

२०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो । मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित  लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथसँग पराजित भए पनि उपाधिमा असर गर्ने छैन । किनभने चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि छ ।चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । १९ फागुनदेखि सुरु भएको लिगमा छैटौं चरणको खेलपछि प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिटको समस्याका कारण राजीनामा दिएका थिए ।आठौं चरणको खेलदेखि बालगोपाल महर्जनले टिमको प्रशिक्षण सम्हालेका थिए ।चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ ।