काठमाडौंमा ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५० दिन अगाडि
काठमाडौंमा ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो

काठमाडौं – आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ ।

काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया दिएका छन् । प्रिमियर शोमा निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत अभिनेता कृष्ण सिवाकोटी, मुकुन भुषाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरी लगायतका अतिीथहरू उपस्थित थिए । विगतभन्दा यसपटक आयोजित चलचित्रको प्रिमियर कार्यक्रम असाध्यै छोटो बनाइएको थियो । यसअघिका कार्यक्रममा उपस्थित अतिथिहरूले औपचारिक कार्यक्रम असाध्यै लामो बनाइएको, धेरै वक्ता राखिएको भन्दै गुनासो गर्न थालेपछि चलचित्रको प्रिमियर शो असाध्यै छोटो बनाइएको चलचित्रका मिडिया सल्लाहकार रामजी ज्ञवालीले बताए । उनले भने, ‘प्रिमियर शोमा हामीले अतिथिहरूलाई चलचित्र देखाउने हो, उहाँहरूबाट प्रतिक्रिया लिने मात्रै हो तर अधिकांश प्रिमियर कार्यक्रम लामो हुन्छन्, यसपटक हामीले निकै छोटो गराइयो अनि चलचित्र देखाइयो । यसले अतिथिहरू खुशी भएको पाएँ ।’

प्रिमियर शोमा आयोजित छोटो औपचारिक कार्यक्रममा निर्देशक सरोज पौडेलले चलचित्र नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । उनले भने, ‘हामीले यो एउटा प्रयास गरेका छौं । अर्को कुरा म पनि यसै चलचित्रबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्वीकार्नुहुनेछ ।’  कार्यक्रममा अभिनेता बुद्धी तामाङले अरु चलचित्रभन्दा यसपटक केही फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताए । अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखेका छन् ।

निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको औपचारिक कार्यक्रमपछि चलचित्र देखाइएको थियो । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो, यसलाई दर्शकले मन पराएका थिए । वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढाव लगायतका विषयवस्तुमा आधारित चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केही शहरमा पनि चलचित्र प्रदर्शनको तयारी गरिएको छ । तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

चलचित्र केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डीओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरूको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।