काठमाडाै -उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा नि:शुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल नि:शुल्क व्यवस्था गर्न माग गरेको हो । जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा सरकारले लागु गरेको स्वास्थ्य बीमा सहज नहुँदा उपभोक्ताले दु:ख पाएको भन्दै त्यसलाई सहज गर्न पनि माग गरिएको छ ।
त्यस्तै सुर्तिजन्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा असर गरेको विषयमा पनि उपभोक्ता जागरण अभियानले मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले अस्पतालहरुले अनिवार्य रुपमा १०५ शय्या विपन्न, असहाय र बेवारिसे बिमारीलाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको भन्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा आफ्नो ध्यानाकर्षण हुनुको साथै कार्यान्वयनमा तत्काल लैजाने आश्वासन दिए । यसैगरी जागरण अभियानले खानपिनका कारण संक्रामक रोगबाट उपभोक्ता पीडित बनिरहेको सम्बन्धमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । बजारमा सडेको मासु बिक्री हुने गरेको, विभिन्न केमिकल प्रयोग गरी पकाएका फलफूल र त्यसबाट बनेका जुस लगायतका पेय पदार्थ पिउँदा क्यान्सरसम्म लाग्ने गरेको भन्दै त्यस्ता वस्तु विक्रि वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।।