भारतको नयाँ नक्साबारे कुरा उठेको छ, थप अध्ययन र छलफल गर्छौँ - प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६७ दिन अगाडि
भारतको नयाँ नक्साबारे कुरा उठेको छ, थप अध्ययन र छलफल गर्छौँ - प्रधानमन्त्री

काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले गम्भीर रुपमा उठाएको बताएका छन्। 

बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका हुन्।  प्रधानमन्त्री प्रचण्डले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न आग्रह गरेको जवाफ आएको बताए। उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासन समेत दिए।

प्रधानमन्त्री प्रचण्डले भने,  ‘पहिलो कुरा संसदको नक्शाबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए । किन कि त्यो धेरै अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्शाबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ। यो कुनै राजनीतिक नक्शा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्शा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो । अव योबारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ।’