काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएको बताएका छन् ।
आफू भारत भ्रमणमा जाने दिन (जेठ १७ गते) राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संयोग मात्र भएको उनले बताए ।राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको अधिवेशन आह्वान भएकै दिन प्रमाणीकरण होस् भन्ने आफूले चाहेको बताए । राष्ट्रपतिलाई के सल्लाह दिँदा हुन्छ भनेर आफूले संविधानविद्, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग परामर्श गरेको र प्रमाणीकरण गर्दा हुन्छ भन्ने सल्लाह आएको उनले सुनाए । ‘भारत जाने दिन प्रमाणीकरण होस् भनेको होइन । भारत भ्रमणमा जाँदैछु, यो–यो विषयमा कुरा हुँदैछ भन्न गएको थिएँ’, उनले भने, ‘मेरो त २४ गते जतिबेला बजेट सेसन सुरु हुने दिन थियो, त्यही दिन प्रमाणीकरण गर्दा हुन्छ भन्ने थियो ।’
राष्ट्रपतिले अलिकति कानुनी सल्लाह आफूले पनि गर्नुपर्ने बताएको उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सल्लाह लिँदै जाँदा संयोग म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । यसमा मेरो केही दोष छैन ।’ उनका अनुसार राष्ट्रपतिलाई ‘केही न केही टेक्ने ठाउँ भए हुन्थ्यो’ भन्ने लागेकाले मन्त्रिपरिषद्को १२ जेठको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको बताए ।