काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताए।
राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडी बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको बताए। नयाँको नामबाट शुरु भएका राजनीतिक दलहरु यथास्थितिवादलाई पोषण गर्ने बाहेक अन्य ठोस आधार र धरातल नभएको पोखरेलको भनाई छ । महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाहीँ पपुलिष्टहरु राजनीतिमा आउने गरेपनि समाज परिवर्तनको आकांक्षाहरुलाई सम्बोधन गर्न र समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने दाबी गरे । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहो¥याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको ठम्याइ छ।
उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरु विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताउनु भयो । उनले राजनीतिक दलहरुले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुविकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरु उत्पन्न नहुने बताए । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडी बढाउन नसक्दाको परिणामको रुपमा अहिले पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आएको बताए । पपुलिष्टहरुले कहिलेपनि समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने उनको दाबी छ । नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसावबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए ।