काठमाडाै -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले मुलुकका अन्य समस्यालाई बिर्सेर संसदमा भैँसी र राँगोको विषयमा बहस भएकोमा लज्जित महसूस गरिरहेको बताएका छन् ।
उनले आफ्नो पार्टीका र नयाँ दलका सांसदले गरेको बहसप्रति क्षमा मागे । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बजेटको सामान्य छलफलमा भाग लिँदै सभापति लामिछानेले संसदमा भइरहेको अमर्यादित बहसबारे क्षमा मागेका हुन् । ‘संसद्को गरिमा राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौं ? यसबारेमा ध्यानाकर्षण गराउँछौं । जस्ताजस्ता विषयमा छलफल गर्यौं, त्यसबाट हामी लज्जित भएका छौं,’ लामिछानेले भने, ‘भैँसी र राँगोको विषयमा गफ गरेर ५ वर्ष बिताउने हो हामीले गोबरबाहेक केही पाउँदैनौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सहमति भएकोमा संसदमा पछिल्ला दिनमा त्यसबारे बहस भइरहेको छ । ‘हाम्रो दलबाट भएका कमीकमजोरीमा माफी माग्न चाहन्छौं, नयाँ दलको रूपमा नयाँ अभ्यास लिएर आएका छौं । संसद्बाट राम्रो सन्देश गएको छैन । संसदमा भएका बहस अमर्यादित भएकोमा क्षमा माग्न चाहन्छु,’ उनले भने ।