काठमाडाै -रास्वपा सचेतक निशा डाँगीले बागमती नदीमा भइरहेको सफाइको राजनीति अन्त्य गर्न माग गरेकी छिन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले प्रश्न गरिन्, ‘बागमती र अन्य नदीको नाममा अझ कति वर्षसम्म राजनीति अनि पैसा बगाउने काम हुन्छ यो देशमा ?’ बाग्मतीलगायत अन्य नदीहरु सहरको दुर्दशा, काठमाडौं उपत्यकाबासीको साझा अनुहार भएको उल्लेख गर्दै उनले यसले नेपाली राजनीतिकै अनुहार चित्रण गर्ने जिकिर गरिन् । ‘जसलाई सङ्लो बनाऊन निकै कठिन छ ईमानदारिता नभएर,’ उनले भनिन्। पशुपति क्षेत्रलगायत बाग्मती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बाग्मतीमा बगिसकेको उल्लेख गर्दै सांसद डाँगीले एकातिर नदी सफाइमा बर्सेनि २ अर्बभन्दा बढी खर्च गरिए पनि खोलानाला जस्ताको तस्तै रहेको गुनासो गरिन्।
खानेपानी ऐनले मलमुत्र खोलामा मिसाए तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरेको स्मरण गराउँदै उनले भनिन्, ‘यो दण्ड जरिवानाको भागिदार को हो ? ढल व्यवस्थापनको जिम्मा लिएका स्थानीय तह, अधिकार सम्पन्न वाग्मती सभ्यता, एकीकृत विकास समिति कि स्वयम् स्थानीय ?’ गुह्येश्वरी, सल्लाघारी, कोड्कु, सुन्दरीघाट, खोकनामा बनाउने भनिएको ढल प्रशोधन केन्द्र, गुहेश्वरीबाहेकको वित्तीय र भौतिक प्रगति हेर्दा डिप्रेसनको शिकार हुने अवस्था रहेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।