काठमाडाै -तातो हावा (लु) को लहर तथा जनजीवनमा परिरहेको प्रभाव कम गर्न सरकारले कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार आयोजना गरेको विपद् संवादमा सरकारीसँगै सम्बन्धीत निकायको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रको योजनाको आवश्यकता औँल्याइएको हो ।
तातो हावासम्बन्धी सरकारी निकायका अधिकारी एवं विज्ञबाट स्थानीय तहको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्य अगाडि बढाउन उपयुक्त हुने धारणा पनि व्यक्त भयो ।
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहनसक्ने बताइन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डन्ट डा. पवनकुमार साहले तातो हावाको लहरबाट सामान्यदेखि बेहोस भई ज्यान जानेसम्मका स्वास्थ्य जोखिम रहेको जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्थान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धितालले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत प्रणाली लगायतमा प्रभाव पर्ने भएकोले सबै निकायबीच उचित समन्वयमा काम हुनुपर्ने बताए । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई जलवायु परिवर्तन र पानी व्यवस्थापन विज्ञ अजय दीक्षितले सहजीकरण गरेका थिए ।