काठमाडाै -जिल्ला प्रहरी कार्यालय लमजुङले दोर्दी गाउँपालिका- ४ नौथर शेराबाट सातजना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले नौथर शेरास्थित ए वान रेस्टुरेन्ट अर्थात् पर्शुराम गुरुङको रेस्टुरेन्टबाट मंगलबार बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवातास खेल्दै गरेका सातजना जुवाडेलाई नगदसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक लाख एक हजार ६ सय २५ रुपैयाँ नगदसहित एक सय ५२ पत्ती ताससमेत बरामद गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिकाका लिलबहादुर गुरुङ, राम अधिकारी, नीलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरूले मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवासम्बन्धी कसुरमा आज म्याद थप लिई अनुसन्धान अघि बढाइनेछ । मुलुकी अपराध संहिता, २०७४ बमोजिम पहिलोपटक जुवा खेल्ने, खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने गरी बरामदी रकमसमेत जफत हुने र दोस्रोपटक जुवा खेल्ने, खेलाउनेलाई पटकैपिच्छे थप तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।