काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधम रूपमा भइरहेको छ ।
महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केबललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो | सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए । काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने जानकारी दिए ।