अनलाइन बेटिङ प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५१ दिन अगाडि
अनलाइन बेटिङ   प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ

काठमाडौं - अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । प्रहरीका अनुसार वान एक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ । सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन ।