काठमाडाै -प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरुले विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको भएपनि सरकारले ध्यान नदिएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले समस्या समाधानका निम्ति पहल नभए सामूहिक आत्मदाहको अवस्था आउनसक्ने भन्दै सचेत गराए। ‘नागरिकताबाट बञ्चित भएका सन्तानहरुले विभिन्न जिल्ला र काठमाडौंको माइतीघरमा आत्महत्या गर्ने गर्ने कोशिश गरिरहेका छन् सभामुख महोदय । यो प्रयास एक दुई दिनभित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन्। त्यसको जिम्मेवारी कसले लिन्छ ? नेपाल सरकारले लिने कि नेपालको न्यायालयले लिने ?’ सांसद खानले भने।
नेपाली नागरिकले नेपाली नागरिकता माग्नु अपराध नभएको प्रष्ट्याउँदै उनले नागरिकता दिन वा गोली हानेर धपाउन चुनौती दिए। उनले भने, ‘के नागरिकता माग्नु अपराध हो ? हामी नेपाली हौं। नेपालमा बसोबास गर्ने मानिस हौं । हामीलाई देशको नागरिकता चाहिएको छ भन्नु अपराध हो भने यो देशका हामी सबैलाई गोलि हानेर भगाउनुस् । कि त हामीलाई नागरिकता दिनुस्।’