आइसीसी विश्वकप छनोट - अमेरिकालाई हराउँदै नेपाल ६ विकेटले विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४६ दिन अगाडि
आइसीसी विश्वकप छनोट - अमेरिकालाई हराउँदै नेपाल ६ विकेटले विजयी


काठमाडौं - जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपाल ६ विकेटले विजयी  भएकाे छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए ।

ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करको बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए ।  अर्का ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो । कुशल नोस्तुषा केन्जिगेको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो । 

कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाए । कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा अविजित ७४ रनको विजयी साझेदारी गरे ।  दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । 

अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १/१ विकेट लिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।