काठमाडौं - पछिल्लो समय मानिसहरुकाे स्क्रिन समय अर्थात कम्प्युटर तथा स्मार्टफोनको प्रयोग अत्याधिक बढेको छ ।
कम्प्यारिटेककाे एक रिपोर्टका अनुसार विभिन्न देशमा मानिसले दिनमा औसत छ घण्टादेखि १० घण्टासम्मको समय स्क्रिनमा बताउने गरेका छन् । रिपाेर्टका अनुसार अमेरिकामा मात्र दैनिक एक व्यक्तिले औसतमा सात घण्टा चार मिनेट स्क्रिनमा हेरेर बिताउने गरेका छन्।
यसरी अत्यधिक समय स्क्रिनमा हेरेर बिताउँदा यसले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारेको विभिन्न अध्ययनले देखाएका छन् ।
कम्प्युटर तथा मोबाइल स्क्रिनमा अधिक समय बिताउँदा स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ ।
- कम्प्युटर वा मोबाइल जस्ता डिभाइसको स्क्रिनले ब्लु लाइट (निलो प्रकाश) उत्सर्जन गरिरहेको हुन्छ । यसरी ब्लु लाइट लगातार हाम्रो आँखामा पर्दा त्यसले रेटिना खराब गर्न सक्छ । आँखाको रेटिनामा लगातार ब्लुलाइट पर्दा आँखा दुख्ने, आँखा चलाउन समस्या हुने, टाउको दुख्ने जस्ता समस्या देखा पर्छन् ।
- स्क्रिनमा लगातार हेरिरहँदा हामी औसतभन्दा कम आँखा झिम्काउँछौँ । यसरी आँखा झिम्काइमा कमी भयो भने त्यसले आँखा सुक्खा बनाउँछ । यसरी आँखा बढी सुक्खा हुँदा त्यसले जलविन्दुको समस्या निम्तिन सक्छ ।
- कम्प्युटर वा मोबाइलमा केन्द्रित हुँदा आँखाको मांसपेशीमा थकान हुन्छ । यसले आँखा दुख्ने, टाउको दुख्ने जस्ता समस्या निम्त्याउन सक्छ।
- हामी कम्प्युटर वा मोबाइल चलाउन चलाइ रहँदा हाम्राे आसन कस्ताे छ त्यसले पनि हाम्राे स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।आसनकै कारण हाम्रो गर्धन, कुम जस्ता भागमा समस्या निम्तिन्छ । लामो समय स्क्रिनमा बिताउँदा हाम्रो ध्यान स्क्रिनमै बढी केन्द्रित हुन्छ र गर्धन, कुम जस्ता भागमा समस्या निम्तिनका साथै लामो समय स्क्रिनमा बिताउँदा आँखामा बढी समस्या हुन्छ ।
- स्क्रिनमा बढी समय बिताउँदा त्यसले हाम्रो प्राकृतिक सुताइको चक्रलाई असर गर्छ । जसले गर्दा हामी ढिलो निदाउने र ढिलो बिउँझिने स्वभाव बढ्दै जाने हुनसक्छ ।
- कम्प्युटर वा मोबाइल स्क्रिनमा बढी समय बिताउँदा भौतिक शरीरले बढी चाल गर्न पाउँदैन । एउटा ठाउँमा लगातार लामो समय बसेर स्क्रिन हेरिरहँदा त्यसले मुटु रोग, चिनी रोग, मोटोपन जस्ता समस्या निम्त्याउँछ ।
- लामो समयसम्म स्क्रिनमा बिताउँदा शारीरिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । यस्तोमा घाँटी, ढाड, टाउको दुखाइ, र अन्य शारीरिक समस्या निम्तिन सक्छ ।
- अधिक समय स्क्रिनमा बिताउँदा त्यसको असर अप्रत्यक्ष रूपमा मानसिक स्वास्थ्यमा पनि पर्छ । यस्तोमा डिप्रेसन, तनाब, एक्लोपनको समस्या हुने जोखिम बढी हुन्छ ।
- जति समय हामी स्क्रिनमा बिताउँदै जान्छौँ, हाम्रो सामाजिक सीप घट्दै जान्छ । विशेष गरी बालबालिकामा यसको जोखिम बढी हुन्छ ।
कसरी बँच्ने त ?
- हाम्रो स्वास्थ्यमा स्क्रिनको नकारात्मक असर कम गर्न ब्लु कट ग्लास प्रयोग गर्ने, आँखाको व्यायाम गर्ने, समयमा सुत्ने र समयमै उठ्ने ।
- स्क्रिन धेरै प्रयोग गर्नुपर्ने काम छ भने हरेक आधा घण्टामा ब्रेक लिएर केही मिनेट आँखा चिम्म गर्ने वा बढी चलाउने, स्क्रिनमा एकोहोरो नहेर्ने बानीले स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर कम पर्छ ।
- आँखाको जाँच गरी डाक्टरकाे सल्लाहमा आखालाई सुख्खा हुनबाट बचाउँन 'eye Drop'को प्रयाेग गर्ने । अन्यथा गलत लिक्विड प्रयोग गर्दा जल विन्दुको समस्या हुन खतार रहन्छ।
- बालबालिकाहरूलाई माेबाइल वा कम्प्युटर भन्दा टाढा राख्ने प्रयास गर्नुहाेस्। उनीहरुलाई समय छुट्याएर उनीहरुसँगै खेल्ने वा समय वितवाउनाले उनीहरुकाे स्क्रिन समय घट्नाले पनि मानसिक तथा शारीरिक स्वास्थ्यमा सहयाेग पुग्दछ ।