काठमाडौं - काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतवारको नगरसभाको बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । चालूतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको उनले बताइन् । प्रस्तुत बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निःशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् ।महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।