काठमाडौँ । करिब ६० वर्षअघिको ढाक्रे जीवन शैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ ।
निरञ्जन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा फिल्म निर्माण गरेको बताएका छन् । ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी, घिउ, भटमासहरु त्यहाँ बेचेर नून, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।
फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय छ । सुमन थापा र बिनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, विजय पोखरेल र विनोद चौधरीको स्म्पादन छ । ‘ए ढाक्रे दाई’ को वितरण आरआर फिल्म प्रोडक्शनले गर्दैछ ।