काठमाडौं : नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोन पे’ र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’बीच फोनपे क्यू–आर भुक्तानी नेटवर्कमा आबद्धताका लागि सम्झौता भएको छ ।
फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोन पे र नमस्ते पेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सम्झौतासँगै नमस्ते पेका प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पेको नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यू–आर भुक्तानी गर्न सक्नेछन् । सम्झौतामा हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नमस्तेपेलाई फोनपेको नेटवर्कमा आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी लागेको बताए ।‘अब नमस्ते पे प्रयोगकर्ताहरूले फोनपे क्यू–आरमार्फत पनि भुक्तानी गर्न सक्छन् ।
हामी विश्वस्त छौं कि नमस्ते पेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ’ उनले भने, ‘प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ । नमस्तेपेसँगको साझेदारीले, हाम्रा ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।’त्यसैगरी सम्झौतापछि नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा निकै उत्साहित भएको बताएका थिए । ‘हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैं प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ’ उनले भने ।