काठमाडौं । रौतहटको मौलापुरमा आमा छोरी मृत भेटिएका छन् ।
जिल्लाको मौलापुर नगरपालिका-४ पतौरामा शनिवार बिहान आमाछोरी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय २४ वर्षीया कविता देवी र उनकी अन्दाजी १८ महनाकी छोरी रुही कुमारी मृत फेला परेका हुन् । छोरी झुण्डिएको अवस्थामा र आमा भुइँमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर बूढा मगरले जानकारी दिए । आमाछोरीको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । हत्याको कारण भने खुली नसकेको उनले बताए । घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । कविताका माइती पक्षले भने दाइजोको निहुँमा हत्या गरिएको आरोप लगाएका छन् ।