कहिले आउछ एसईईको नतीजा ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३३ दिन अगाडि
कहिले आउछ एसईईको नतीजा ?


 काठमाडाै‌ -राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता  सार्वजनिक गर्ने भएको छ ।

परिक्षा नियन्त्रण कार्यालयका अनुसार यही असार २३ गते शनिबारसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसै हप्तामा नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।  नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहे पनि अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य अनुसार नै नतिजा प्रकाशित गर्ने विषयमा भने ढुक्क हुन नसकिने श्रेष्ठको भनाइ छ । 

काम गर्दै गर्दा प्राविधिक समस्या आए नतिजा प्रकाशन अर्को साता धकेलिन सक्ने पनि त्यहाँका कर्मचारीहरुको भनाई छ।  गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । नतिजा सार्वजनिक गर्नुपर्ने मिति नजिकिँदै गर्दा यसपटक लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने भन्ने बारेमा भने टुंगो लागिसकेको छैन ।  यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच भएकाले पुरानो निर्देशिका अर्थात् (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरुको जोड छ। निर्देशिका २०७८ मा भने सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ । तर  २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ ।