भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४२ दिन अगाडि
भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

काठमाडाै‌ -भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् ।

विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरलाई जनही ६ वर्ष कैद सजाय सुनाएको छ । ४ असारमै कसुर ठहर भई आइतबार सजाय निर्धारणका लागि पेस भएकोमा गुप्तालाई दुईवटा मुद्दामा गरी ६–६ वर्ष कैद तथा तेस्रो मुद्दामा एक वर्ष ६ महिना कैदको फैसला सुनाइएको हो ।  विशेष अदालतका सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले गरेको फैसलाअनुसार राजस्व रकम हिनामिना आरोपमा तीनैजनालाई ६–६ वर्ष कैद तोकिएको विशेषका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार यो मुद्दामा विशेषले कुल बिगो दुई करोड सात लाख २९ हजार आठ सय ८८ रुपैयाँ कायम गरेकोमा दामासाहीले तीनैजनालाई हुन आउने रकमको दोब्बर जरिवाना तोकिएको छ ।

‘राजस्व रकम हिनामिनाको मुद्दा भएकाले दोब्बर तोकिएको हो । दोब्बर गर्दा जनही एक करोड ३८ लाख १९ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको हो,’ उनले भने । गुप्ताले २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेको र नक्कली रसिदसमेत उनले प्रयोग गरेर रकम संकलन गरेको भेटिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गुप्ताले नक्कली रसिदबाट एक करोड ३५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए । जसमध्ये दुई करोड ५० लाख ८६ हजारभन्दा बढी रकम हिनामिना गरेको भेटिएपछि १ जेठ ०७६ मा यी तीनका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका तीनजनासमेत गरी ६ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो ।

कार्यालय प्रमुख त्रिवेदीले आफ्नो पदीय दायित्व निर्वाह नगर्दा गुप्ताले यस्तो अनियमितता गर्न सम्भव भएको दाबी अभियोजन पक्षको थियो । सरकारी कार्यालयबाट संकलित राजस्व सोही दिन र सम्भव नभए भोलिपल्ट भए पनि सम्बन्धित राजस्व खातामा जम्मा गर्नुपर्ने तथा जम्मा गरेको भौचरसमेत नत्थी गरी तोकिएको ढाँचामा सोको आर्थिक विवरण कार्यालय प्रमुखले प्रमाणित गरी राख्नुपर्ने कानुनी व्यवस्थाविपरीत त्रिवेदीले आफ्नो पदको दुरुपयोग गरेको र प्रत्यक्ष मिलेमतोमा करोडौँको भ्रष्टाचार भएको दाबीसहित अभियोगपत्र दायर भएको थियो ।