काठमाडाै -प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।
बुधवार राष्ट्रिय सभा बैठक शुरू हुनेवित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरे । उनले माग पूरा नभई बैठक चल्न नदिने अडान राखे । प्रचण्डले व्यवसायी सिंहको प्रयासमा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएको भन्दै भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनले बताए ।
‘हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? कसको इसारामा हुन्छ ? प्रधानमन्त्रीजीले मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली जानुभयो र दिल्लीमा राजनीतिक वातावरण बनाउनु भयो भन्ने आसय व्यक्त गर्नुभयो,' उनले भने, 'उहाँ स्वयंले यो कुरा अभिव्यक्त गर्दाखेरी हामी लज्जित भएका छौं । यसरी भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने कुरा हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । उहाँले राजीनामा दिनु पर्छ । उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन ।’ एमालेले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली धाएको’ भन्ने प्रधानमन्त्री ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसदमा स्पष्टीकरण माग गर्नेसमेत निर्णय गरेको छ । प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने एमालेको तयारी छ । संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति देशको स्वाभिमानविरोधी भन्दै संसदमा जवाफ माग्ने निर्णय गरेको हो ।सोमवार साँझ किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन समारोहमा प्रचण्डले नेपालको सरकार गठनमा भारतीय पक्ष हाबी हुने गरेको बजार हल्लालाई पुष्टि हुनेगरी अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए ।