काठमाडाै-प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्मा हंगामा भएको छ ।
प्रचण्डले गत सोमवार व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने माग गरे । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् अघि बढ्न नदिने उनले चेतावनी दिए । 'प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो,' उनले भने, 'नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न । तत्काल राजीनामा दिनुपर्छ।’ विपक्षी दलका सांसद उभिएर विरोध गरिरहेको समयमा सभामुख घिमिरेले माओवादी सांसदलाई बोल्न दिएका थिए । एमाले सांसद पन्तले बोलेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद छिरिङ लामालाई बोल्न समय दिएका थिए ।प्रतिपक्षी दलका सांसद उभिएको समयमा सत्तापक्षका सांसदलाई बोल्न दिएको भन्दै एमालेले विरोध जनाएको थियो ।
सांसद लामाले आकस्मिक समयमा जुम्लामा दलितको घर जलाइएको विषयमा बोल्न लागेकी थिइन । हंगामा भएपछि उनी बोलिरहेको समयमा सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । सोमवार साँझ किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन समारोहमा प्रचण्डले नेपालको सरकार गठनमा भारतीय पक्ष हाबी हुने गरेको बजार हल्लालाई पुष्टि हुनेगरी अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए ।