लाइसेन्सका लागि अनलाइन भुक्तानी सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३१ दिन अगाडि
लाइसेन्सका लागि अनलाइन भुक्तानी सुरु

 काठमाडाै‍‌ -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि अनलाइन भुक्तानी सेवा शुभारम्भ गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेका हुन् ।  पहिलो चरणमा गण्डकी प्रदेशबाट यो सेवा सुरु गरिएको छ । हाल देशभरका यातायात कार्यालयमा सेवाग्राहीको भिड हुने गरेको छ । डिजिटल प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु भएपछि यातायात कार्यालयको भिड घट्ने अनुमान गरिएको छ । मन्त्री ज्वालाले अब एक महिनाभित्रै सबै प्रदेशबाट सेवा प्रारम्भ हुने बताए । गण्डकी प्रदेशबाट सेवा सुरु गरेका छौँ, एक महिनाभित्र देशभरि नै सुरु हुन्छ । 'यसले यातायात कार्यालयमा हुने अनावश्यक भिड समाधान गर्नेछ, साथै बिचौलियाको पनि अन्त्य गर्छौँ,’ उनले भने, ‘साथै यातायात कार्यालयमा हुने बिचौलियाको पनि अन्त्य गर्छौँ ।’ 

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सबै यातायात कार्यालयमा भिड कम गर्न अनलाइन प्रणाली लागू गरिने बताए । उनका अनुसार हालसम्म देशभर ३३ लाख चार हजारभन्दा बढीले चालक अनुमतिपत्र लिइसकेका छन् । विभागले सवारीचालक अनुमतिपत्र अब दश वर्षमा नवीकरण गर्ने मिल्ने प्रक्रिया अघि बढाइसकेको छ । ‘अब चालक अनुमतिपत्रको कार्ड लिन सहज बनाउन प्रिन्टर मेसिन थप गर्दै छौँ,’ उनले भने, ‘प्रदेश सरकारले पनि प्रिन्टर मेसिन खरिदका लागि बजेट विनियोजन गरेको छ ।