काठमाडाै -प्रहरीको अनुसन्धानमा रहेको ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
यो प्रकरणमा निष्पक्ष र स्वतन्त्र रूपमा प्रहरीले अनुसन्धान गरिरहेकाले यसमा संलग्न सबैमाथि कारबाही हुने उनको भनाइ छ । शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले अनुसन्धानमा प्रहरीमाथि कुनै दबाब र प्रभाव नभएको दाबी गरे । ‘स्वतन्त्र र स्वच्छ रूपमा तपाईंहरू अनुसन्धान गर्नुस्, जो दोषी छ कानुनको दायरामा ल्याउने कुरामा निर्भीकताका साथ अगाडि बढ्नुस् भनेर प्रहरीलाई स्ट्यान्डबाई निर्देशन दिइएको छ,’ उनले भने । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सो प्रकरणमा नौ आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।कमिसन र भ्रष्टाचारले देश जर्जर भएको र त्यसमा राजनीतिक संरक्षणसमेत रहेकाले अहिले जनताका आशा जगाउन सुशासनलाई सरकारले केन्द्रबिन्दुमा राखेर काम गरेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।
त्यही अभियानअन्तर्गत नक्कली शरणार्थी तथा ललितानिवास प्रकरणमा छानबिन गरिएको उनले बताए । गृह प्रशासन र प्रहरीमा संस्थागत सुधारमा पनि आफू लागिरहेको उनले सुनाए । प्रहरीको सरुवा–बढुवामा हुने चलखेल शून्यमा झारिएको गृहमन्त्रीले दाबी गरे । ‘सरुवा–बढुवालाई पूर्ण रूपमा निष्पक्ष बनाइएको छ । सरुवा–बढुवामा मेरो सचिवालयको संलग्नता पुष्टि भयो भने राजनीति छोडिदिन्छु,’ उनले चुनौती दिए । प्रहरीमा जसरी पनि ३० वर्षे सेवाहद हटाउने पक्षमा आफू रहेको उनले स्पष्ट पारे । १६ तथा १८ वर्षमा तल्लो तहका प्रहरीलाई स्वेच्छिक अवकाशको प्रावधान लागू गर्ने प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिएका छन् । दुवै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर रोकिएको छ ।