एमालेले सत्तालाई प्राथमिकता दिएको छैन - शंकर पोखरेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३६ दिन अगाडि
एमालेले सत्तालाई प्राथमिकता दिएको छैन - शंकर पोखरेल

काठमाडाै‌ -प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्।

कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको उनको तर्क छ। नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागिपरेको दोहो¥याए। मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनावलगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान संचालन गरेको स्पष्ट पारे।

‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली कांग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । केका आधारमा गर्दैछ ? भन्दाखेरी नेपाली समाजमा राजनीतिको धुब्रीकरण हुन सकेन,’ उनले भने। महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको बताए।