पहाडै चर्किएपछि जलजलाका तीन सय परिवार जोखिममा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३५ दिन अगाडि
पहाडै चर्किएपछि जलजलाका तीन सय परिवार जोखिममा

काठमाडाै‌ -जलजला गाउँपालिका– ५ लेखफाँटको सिंगाे गाउँ पहिराेको जोखिममा परेको छ ।

बस्तीभन्दा माथि रहेको लोप्रेको सिंगाे डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुंगासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नम्बर ५ लेखफाँटका साबिकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए। उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्न आवश्यक छ। डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए । पर्वतको वारि बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ। वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपत् व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।  स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए। ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ,’ उनले भने।

गाउँपालिकाले भने बस्तीमा ढुंगामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यवस्थापन गर्ने योजना बनाएको छ । यो योजना दीर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानवबस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए। प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि वेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए। उनले पहिला मानव तथा गाईवस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए। ०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए । भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् । उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए। बस्ती स्थानान्तरण वा अन्य वैकल्पिक उपायबारे छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए।