काठमाडाै -एक महिनामा आठ ठाउँबाट सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न पाँच अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप लिखु गाउँपालिका– १ दुरागाउँका ३२ वर्षीय रविन दमाईं, सुनसरी धरान उपमहानगरपालिका– ८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका– ७ का २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका– ७ का ३० वर्षीय राहुल क्षेत्री र भारत पश्चिम बंगालका ४२ वर्षीय श्रीकान्त माइती रहेका प्रहरीले जनाएको छ। यीमध्ये दमाईं, विश्वकर्मा र माझी सुन चोरी घटनामा संलग्न अभियुक्त हुन् भने माझी र माइती चोरी गरिएका सुन खरिद गर्ने अभियुक्त हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले १, १९ र २० असारमा दुई–दुई ठाउँबाट सुनको सिक्री लुटपाट गरेका थिए । सँगै उनीहरूले ३ असार र १३ असारमा पनि सुनको सिक्री लुटपाट गरेका थिए। विशेषगरी बिहानको समयमा हिँडडुलमा निस्किएका महिलाको गलाबाट सुनको सिक्री थुत्ने र फरार हुने गरेको अनुसन्धानबाट खुलेको कार्यालय प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए।