संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३५ दिन अगाडि
संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारेको छ ।

एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रतिम सिंह पटक–पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सहमतिको प्रयासमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल समेत गरेका थिए । सिंहरदरबारमा भएको छलफलपछि कांग्रेस र माओवादी नेताहरुले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसदको अवरोध हट्ने बताए । एमाले नेताहरुले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद अवरुद्ध हुन सक्ने बताए ।

यही विवादले संसद बैठक बस्न सकेन । र, सूचना टाँसेर भोलि सोमबारका लागि सारिएको छ ।कांग्रेस प्रमुख सचेतक रमेश लेखक संसद भवनमा पुगेपछि एमालेले बोली फेरेको बताउँछन् । ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद खुलाउने सहमति भएको थियो’ उनले भने, ‘सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने आयो । एमालेले कुरा फेरेको रुपमा बुझ्यौं र आजको बैठक बस्न सकेन ।’माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि एमालेका नेताहरुले ‘संसदको अवरोध हटाउने सहमति भएको छैन है’ भन्ने सन्देश पठाएको बताएका छन् ।प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले भने प्रधानमन्त्रीको जवाफ सुन्न संसदको पुगेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक भोलिलाई सारिएको सूचना आएको बताए । उनले ट्वीट गरेका छन्, ‘जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि ? किन सारिएछ कुन्नी ?’