काठमाडाै-बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ ।
मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो ।मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएको थियो । मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । बिहीबार पनि पीडितले प्रतिष्ठान घेराउ गरेका थिए । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ ।
आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ ।प्रतिष्ठानमा पीडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिरहेको छ ।आन्दोलन हिंसात्मक हुन नदिन प्रतिष्ठानमा सुरक्षाा व्यवस्था कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताए । बिहीबार मृतकका परिवार र अस्पतालबीच छलफल भए पनि सहमति हुन सकेको थिएन ।