काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ‘थर्ड पोल’ विज्ञ समूहको बैठक सम्पन्न 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२२ दिन अगाडि
काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ‘थर्ड पोल’ विज्ञ समूहको बैठक सम्पन्न 

काठमाडौं– मध्य अक्षांश क्षेत्रीय सञ्जाल तथा ‘थर्ड पोल’ विज्ञ समूहको तीनदिने बैठक काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्पन्न भएको छ ।

यही जुलाई १२ देखि १४ सम्म चलेको बैठकमा नेपाल, दक्षिण कोरिया, भुटान, कजाकास्तान, किर्गिस्तान, मंगोलिया, जर्मनीलगायत मुलुकका विज्ञहरुको उपस्थिति रहेको थियो । दक्षिण कोरियाको ओजिइओङ रिजिलेन्स इन्स्टिच्युट, मिड–ल्याटिच्युड रिजन नेटवर्क, कोरिया युनिभर्सिटी र हान्स सिडेल फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालयको आतिथ्यमा सम्पन्न भएको हो ।
तेस्रो ध्रुवमा पर्ने मुलुकहरु तथा मध्य अक्षांश क्षेत्रीय सञ्जालमा विज्ञहरुले गरिरहेका कार्यप्रगतिबारे विचार आदानप्रदान गर्न, तेस्रो ध्रुवीय तथा मध्य अक्षांश क्षेत्रभित्र पर्ने मुलुकहरु गर्नुपर्ने अनुसन्धान विधि तथा मोडल विकास गर्न र पानी, खाद्यान्न, ऊर्जा एवं पारिस्थितिकीय प्रणालीमा अपनाउनुपर्ने नवीन अनुसन्धानात्मक प्रविधिबारे बैठकमा छलफल भएको काठमाडौं विश्वविद्यालय, वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रोफेसर डा. रिजनभक्त कायस्थले बताए ।

पहिलो दिनको उद्घाटन सत्रमा आफ्नो विचार राख्दै इसिमोडका डिरेक्टर जनरल पेमा ग्याम्त्सोले ग्लोबल वार्मिङको कारण हिमालय क्षेत्रमा तीव्र रुपमा असर देखिन थालेको उल्लेख गरे । ‘विश्वव्यापी रुपमा दुई डिग्री सेन्टिग्रेडभन्दा बढी तापक्रम बढ्नु चिन्ताको विषय हो, अत्यन्त छिटो गतिमा हिमनदी पग्लिनु अनि हिमताल विष्फोटको जोखिममा रहनु खतराको संकेत हो, यसले भयानक समस्या ल्याउन सक्छ,’ डिरेक्टर जनरल ग्याम्त्सोले भने । जलवायु परिवर्तन राष्ट्रिय मात्र नभएर अन्तर्देशीय र क्षेत्रीय मुद्दा भएकोले त्यसप्रति ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

डब्लुडब्लुएफ नेपालका प्रमुख घनश्याम गुरुङले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरबारे आफ्ना धारणा व्यक्त गरे । ‘जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरले भविष्यमा पानीको संकट झनै गहिरिँदै जानेछ । अहिलेसम्म नै पानीको असी प्रतिशत स्रोत नष्ट भइसकेको छ । यसका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ,’ गुरुङले भने । कतिपय स्थानमा जलवायु परिवर्तनले गर्दा सकारात्मक परिवर्तनसमेत भएको भन्दै त्यसको पनि चर्चा हुनुपर्ने उनले स्पष्ट पारे ।

नास्टका प्राज्ञ डा. दिनेश भुजुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका वनस्पति र जन्तुमा परेको असरबारे आफूले अनुसन्धान गरेको उल्लेख गर्दै हिमाललाई बचाउन नसकेमा त्यसले मानव जातिलाई नै संकटमा धकेल्ने भन्दै सचेत गराए । 

कार्यक्रममा कोरिया युनिभर्सिटीका प्राध्यापक वो क्युन ली, कोरिया युनिभर्सिटीकै अर्का प्राध्यापक सोनाम वांगेल वाङ, काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक जनार्दन लामिछाने, काठमाडौं विश्वविद्यालय, वातावरण विभागका प्राध्यापक रिजनभक्त कायस्थ, खोप नेसनल युनिभर्सिटी, मंगोलियाकी प्राध्यापक ओटगनबायर डिम्बेरेल, जर्मनीका प्राध्यापक एसभेन गुन्थरलगायतले आफ्ना अनुसन्धानसम्बन्धी विचार राखेका थिए ।