क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००३ दिन अगाडि
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण

 काठमाडाै‍-नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण गरेको छ।

 म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स (जिजिपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो।  म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए ।  जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार आएको उनले बताए। पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर पाँच सयभन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनको भनाइ थियो। भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण मानिन्छ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामूलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान साबित हुने बताए। फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन्।  फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैँले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्‍याइरहेको पनि उनले जानकारी दिइन्। (नयाँपत्रिका)