गुरुराजको टिप्पणी- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भारदारी सभाजस्तो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१२ दिन अगाडि
गुरुराजको टिप्पणी- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भारदारी सभाजस्तो

काठमाडाै‌ -कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका हुन्।  उनले महाराजको इसारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इसारा गरेअनुरूप बोल्ने गरिएको आरोप लगाए। 

नेता घिमिरेले भने, ‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ। केन्द्रीय कार्यसमितिको बैठक कता–कता मलाई लाग्यो माफ गर्नुहोला, मलाई भारदारी सभाजस्तो लाग्यो। महाराजको इसारा जता छ, त्यतैतिर आवाजहरू आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। कांग्रेसको केन्द्रीय कार्यसमिति भारदारी सभा होइन। पार्टी प्रमुखको इसारामा, जता पार्टी सभापतिले इसारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ । दुःख र कर्म फरक हो। दुःख र कर्मको भेद छुट्याउन जान्नुपर्छ। केन्द्रीय समितिका साथीहरूले दुःख र कर्मको भेद नै छुट्याउनुभएन। दुःख पर्‍याे भनिदिनुभयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो। जति पनि व्यक्तिहरू आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस्।’ उनले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए। आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाणलाई दुःख नपरेको उल्लेख गरे। दोषी भएमा खाणलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो।