नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०११ दिन अगाडि
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने र बुधवारको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्न सक्ने एक एमाले सांसदले जानकारी दिए । सोमबार कम्बोडिया भ्रमणबाट फर्कने क्रममा एमाले अध्यक्ष ओलीले विमानस्थलबाट बाहिरी सकेको सुन बरामद गरेको विषयमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउनु भएको थियो । उनले सय किलो सुन बरामद प्रकरणमा काँक्रो आफूले खाउ र बियाँ अरुको गालामा टाँसौ भन्ने जस्तै खेल भईरहेको भन्दै गृहमन्त्री श्रेष्ठले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुपर्ने बताए ।सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ पनि संलग्न रहेको दाबी गर्दै एमालेका भ्रातृ संगठनहरुले मसाल जुलुस समेत प्रदर्शन गरेका थिए । गृहमन्त्री श्रेष्ठले पनि जुनसुकै ठाउँबाट दबाब आएपनि सुन प्रकरणको जरैसम्म पुग्ने बताउँदै आउनु भएको छ । यसैगरी एमालेले अर्थमन्त्री डा.प्रकाशशरण महतको पनि राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत गरी दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको एमालेको दाबी छ ।