मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न पूर्व मन्त्री यादवको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१० दिन अगाडि
मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न पूर्व मन्त्री यादवको माग

 काठमाडाैै‍-जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले तराई–मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय मागेर बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले तराई–मधेशमा अहिले मच्चिएको पानीको हाहाकारतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सुक्खा क्षेत्र घोषणा गर्न माग गरेका हुन् । ‘अहिले तराई–मधेशमा पानीको कहर छ, साउने घामले बेस्सरी तातिएका तराईवासीले घरीघरी आकाशतिर हेर्छन्, टुक्रिएका बादल सल्लगै उडेर कहिले कता, कहिले कता पुग्छन् । थोपाहरू खस्न खोज्छन् तर एकछिनमै एक्लिन्छन् । देशभरि मनसुन छ तर त्यहाँ पानी पर्दैन,’ उनले भने । पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले तराई–मधेश क्षेत्रमा पहिले ५०–१०० फिट गाडिएका चापाकलहरूमा पानी आउने गरे पनि अहिले ३०० फिट खनेर गाड्दा पनि पानी नआएको बताए । ‘आज तराईवासीहरू एक थोपा पानीका लागि तर्सिरहेका छन् । रातभर पानीको लागि लाइन बसिरहेका छन्, नगरपालिकाको गाडी कुरेर बस्छन् ।’ मधेशमा जारी पानीको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराए पनि बजेट अभावका कारण समस्या समाधान नहुन सकेको सुनाउँदै उनले सरकारसँग रहेको आकस्मिक बजेटलाई प्रयोग गर्न माग गरे । प्रधानमन्त्रीलाई भेटेर आफूले पानीको समस्याबारे जानकारी गराएको सुनाउँदै उनले भने, ‘प्रधानमन्त्रीज्यूले तत्कालै खानेपानी मन्त्रीज्यूलाई बोलाएर समस्या समाधानका लागि काम अगाडि बढाउन भन्नु भएको थियो । खानेपानी मन्त्रीज्यूले पनि सोहीअनुसार मातहतका विभागहरूलाई निर्देशन पनि दिनुभयो तर बजेट अभावका कारण समस्या समाधान हुन सकेको छैन । कर्मचारीहरूले बजेट नहुँदा काम गर्न अप्ठ्यारो भएको बताउने गरेको उनले सुनाए । ‘तराईवासी पानीका लागि तर्सिरहेका छन् अनि सरकारले आकस्मिक कोष यतिकै राखिराखेको छ । त्यसलाई प्रयोग गर्न एकदमै आवश्यक छ,’ उनले भने ।