काठमाडाै - ताप्लेजुङमा हालसम्म दुई सयभन्दा बढी पशुचौपाया लम्पी स्किन संक्रमणले मरेका छन् ।
लम्पी स्किन रोग संक्रमणका कारण हालसम्म २०७ चौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरले जानकारी दिएकाे छ । केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले लम्पी स्किन रोग फैलने थालेपछि सबैभन्दा धेरै गाई गोरु संक्रमित भएकाे बताए। बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्नसमेत समस्या भएको किसानहरूको भनाइ छ । महतोका अनुसार, ताप्लेजुङमा लम्पी स्किन संक्रमणका कारण २०६ वटा गाईगोरु तथा एक भैँसी मरेका छन् । ताप्लेजुङका स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिकामा १०२ चौपाया लम्पी स्किन संक्रमणबाट मरेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बताए।
मैवाखोला गाउँपालिकामा ३३, फुङलिङ नगरपालिकामा २२, पाथीभरा याङ्वरक गाउँपालिकामा १२, मेरिङ्देनमा तीन र सिरिजंघामा २० पशु मरेका छन् । यस्तै,आठराई त्रिवेणी गाउँपालिकामा १० र सिदिङ्वा गाउँपालिकामा पाँचवटा चौपाया मरेका छन् । फक्ताङ्लुङ गाउँपालिकामा लम्पी स्किन रोग संक्रमण भए पनि हालसम्म कुनै क्षति भएको छैन । केन्द्रका अनुसार, अहिलेसम्म ताप्लेजुङ र पाँचथर जिल्लामा २८ हजार ६२५ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको छ । खोप लगाउने क्रम जारी रहेको केन्द्रले जनाएको छ । फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिकालगायत स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ ।