काठमाडाै-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गर्ने तयारी गरेका छन्।
संवैधानिक परिषद्को बैठक मंगलबार अपराह्न बस्ने जानकारी पाएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।‘पर्सि (मंगलबार)संवैधानिक परिषद्को बैठक बस्ने गरी खबर आएको छ,’ उनले भनिन्। संवैधानिक परिषद् बैठक बोलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग आइतबार बिहान छलफल गरेका थिए।
छलफलमा प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाउनेबारे कुराकानी भएको ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। कार्की अवकाशमा जान एक साता मात्र बाँकी हुँदासम्म संवैधानिक परिषद्को बैठक नबोलाएर प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेका छन्।