काठमाडाैं- प्रदर्शन मिति नजिकिएसँगै चलचित्र‘ऐंचो पैंचो’ले प्रचार अभियान थालेको छ । कृषा चौलागाईं निर्देशित फिल्म युनिटले बुधबार काठमाडौंको टेक्सस इन्टरनेसनल कलेजमा अभिमुखीकरण समारोह आयोजना गर्दै फिल्मको प्रचार थालेको हो ।
कार्यक्रममा कलाकारहरु सुशील सिटौला, राजाराम पौडल र अभिनेत्री शारदा गिरी कलेजमा पुगेका थिए । उनीहरुले कलाकारसँग कुराकानी गर्दै फिल्म हेर्न आइदिन आग्रह गर्नकासाथै फिल्मको विषयवस्तुबारे पनि विद्यार्थीलाई जानकारी गराएका थिए ।
केपी फिल्म्सको ब्यानरमा निर्माण भएको सामाजिक राजनीतिक कथावस्तुमा आधारित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी र विशाल पहारीको अभिनय छ ।
प्रीतम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोको रंग संयोजन, सत्यम राणाको भीएफएक्स र मुकेश शाहको ध्वनि संयोजन छ।
याे चलचित्र आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।