काठमाडाै - दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक शिशुको मृत्यु भएको छ, भने तीन व्यक्ति अझै बेपत्ता छन्।
अन्य तीन जना घाइते छन्। गएराति ९ बजेतिर घरभन्दा ४०० मिटर माथि पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गौरीशंकर गाउँपालिका–७ निवासी टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामी सो पहिरोमा मरेको छ । गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर पहिरोमा परी बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । गौरीशंकर गाउँपालिका–७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी पहिरोमा परेर घाइते छन् । प्रहरीका अनुसार उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । वडा अध्यक्ष दावा शेर्पाका अनुसार पहिरोले टोपाटारका तीन घर पुरिएका थिए । सो ठाउँका अरु केही घर जोखिममा रहेका उनले बताए । स्थानीय घट्टे खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आउजाउ गर्न पनि मुश्किल भएको छ।