एजेन्सी - भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा खसेको पहिरोमा परी २ नेपालीकाे ज्यान गएकाे छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार, बिहीबार राति खसेको पहिरोमा मरेका नेपालीको खोजी जारी छ। केदारनाथधामको पैदलमार्ग शुरू हुने स्थानमा खसेको पहिरोमा नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामी पहिचान भएको छ, तर अर्का एक नेपालीको अझै पहिचान भएको छैन।
गृह मन्त्रालयले पहिरोमा १६ नेपाली बेपत्ता भएको अनुमान गरे पनि स्पष्ट संख्या प्राप्त नभएको बताएको छ। त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बेपत्ता हुनेको वास्तविक संख्या र विवरण प्राप्त हुन बाँकी रहेको बताए । उनले पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको खबर पाउनेबित्तिकै भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर खोज तथा उद्धार कार्य चलिरहेको बताए। स्थानीय सञ्चार माध्यमका अनुसार, नदीमा पानीको सतह बढेको र खराब मौसमका कारण बेपत्ता व्यक्तिको खोजीमा समस्या आएको छ