काठमाडाै-राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजीनिवास बोहोराटार पुगेका छन् ।
२९ फागुनमा राष्ट्रपतिको शपथग्रहणपछि शीतलनिवासमा बस्दै आएका पौडेल शनिबार बोहोराटार पुगेका हुन् । प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिले झन्डै दुई घन्टा बोहोराटारमा बिताएका थिए । राष्ट्रपतिलाई काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले बोहोराटारका स्थानीयसँग भेटघाट र घरको अवस्थाबारे जानकारी लिएका थिए । स्थानीयले राष्ट्रपतिलाई कम्तीमा महिनामा एकपटक बोहोराटार आउन आग्रह गरेका थिए । ‘राष्ट्रपति निर्वाचित भएर शीतलनिवास सरेपछि पहिलोपटक बोहोराटार पुग्नुभएको हो । झन्डै दुई घन्टा बिताउनुभयो । घरको अवस्थाबारे जानकारी लिनुभयो । छिमेकी र स्थानीयहरूसँग भेटघाट गर्नुभयो । छिमेकीले महिनामा एकपटक बोहोराटार आउन आग्रह गर्नुभयो,’ राष्ट्रपति पौडेलेका प्रेस संयोजक कार्कीले भने ।