काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन अवरुद्ध गरेर बार्गेनिङ गरेर बसेकोमा दुख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको छ भन्ने राम्ररी बुझिएको बताएका हुन्।
'वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ। कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ,' उनले भनेका छन्, 'तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद्।'
एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।
सोमबार पनि दिउँसो १ बजे निर्धारित संसद् सहमति नभएपछि चल्न सकेन। सदनको अवरोध हटाउनेबारे छलफल गर्न आज सभामुख देवराज घिमिरेले शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा बोलाएका थिए।
तर सहमति नजुटेपछि बैठक दिउँसो साढे ३ बजे बोलाइ ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको थियो। पुन: बोलाइएको बैठक जारी छ। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ।
नेकपा माओवादी केन्द्रको सोमबार नै बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले संसदीय समितिहरूको नेतृत्वमा भागबण्डा मिलेको बताएका थिए। कांग्रेसले ४, एमालेले ३ र माओवादी केन्द्रले २ संसदीय समितिको नेतृत्व पाउने गरी बाँडफाँट भएको प्रचण्डले बताएको एक सांसदले जानकारी दिएका थिए। यस्तै संसदीय समितिमा एकीकृत समाजवादीले १, जसपाले १ र जनमत पार्टीले एक नेतृत्व पाउने भएका छन्।